भीमफेदी दुर्घटना : क्षतिपूर्ति माग्दै आफन्तले शव बुझ्न मानेनन्, १३ जनाको शव अस्पतालमै

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्तले सङ्घीय सरकारबाट विशेष राहत तथा क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन्।

पीडित परिवारले आफ्ना माग पूरा नभएसम्म शव नउठाउने अडान लिएपछि १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा नै रोकिएको छ।

दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये एक जनाको परिवारले शव बुझिसकेको भए पनि बाँकी १३ जनाको शव अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटना असाधारण प्रकृतिको भएको उल्लेख गर्दै पीडित परिवारले सङ्घीय सरकारबाट विशेष सम्बोधन हुनुपर्ने माग राखेका छन्। उनीहरूले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग अघि सारेका छन्।

यस विषयमा पीडित पक्ष, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्री तथा स्थानीय जनप्रतिनिधिहरूबीच छलफल भए पनि कुनै सहमति जुट्न सकेन।

प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रचलित कानुन तथा नियमअनुसार राज्यले उपलब्ध गराउने राहत र क्षतिपूर्ति दिन कुनै अवरोध नरहेको स्पष्ट पारेका छन्। तर, आफन्तहरूले सङ्घीय सरकारबाटै थप विशेष निर्णय हुनुपर्ने अडान नछाडेपछि सहमति हुन नसकेको डीएसपी काफ्लेले बताए। गतिरोध अन्त्यका लागि आज पनि थप छलफल गरिने प्रशासनले जनाएको छ।

बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हायस भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त भएको थियो। छठ पर्व मनाउन घर फर्किँदै गरेका यात्रु चढेको उक्त गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन्।

दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले जोखिमपूर्ण भीरबाट घाइते तथा मृतकहरूको उद्धार गरेको थियो।

सम्बन्धित समाचार

सबै