छठ पर्व मनाउन घर फर्किँदै थिए, भीमफेदी दुर्घटनामा अस्ताए

छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किँदै गरेका यात्रुहरू सवार ईभी गाडी मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको खुलेको छ ।

दुर्घटनामा परी घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का मुकेश यादवले आफूहरु दुई वटा गाडीमा गाउँ फर्किँदै गरेको र पहिलो गाडी दुर्घटनामा परेको बताए । पछाडि रहेको अर्को गाडीमा सवार रहेकाहरुले प्रहरीलाई दुर्घटनाबारे जानकारी गराएका थिए । दुर्घटनामा परेका सबै फलफूल व्यापारीका परिवार भएको बताइएको छ ।
यादवले छठ मनाउन गाउँ फर्कने क्रममा आफूहरूसहित १४ जना उक्त दुर्घटना भएको गाडीमा सवार रहेको बताए ।
हेटौँडा अस्पतालमा उपचारका क्रममा रहेका मुकेशका अनुसार उनीहरू ललितपुरको टिकाथलीबाट छठ मनाउन गाउँ जान ईभी गाडी बुक गरेर राति करिब २ बजे हिँडेका थिए । गाडीमा सवार अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उनले बताए । आफ्नै परिवारका सदस्य नभए पनि गाउँका छिमेकीहरूसँगै यात्रा गरिरहेको उनको भनाइ छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान उनीहरु सवार ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा ३ महिला, ५ पुरुष र २ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३ पुरुष र २ बालकको उद्धार गरिएको थियो । घाइतेमध्ये तीन जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । जसमा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादवसहित ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव छन् ।

मुकेशको टाउको र ढाडमा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको छ । सक्षमको शरीरमा भित्री चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ । सुदनको टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको उक्त ईभी सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो ।

सम्बन्धित समाचार

सबै