लालबन्दीमा साहित्यिक विमर्शसहित महाकवि देवकोटाको जन्मजयन्ती भव्य रूपमा सम्पन्न

लालबन्दी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा लालबन्दी नगर वाङ्‌मय परिषद्ले विशेष साहित्यिक विमर्श कार्यक्रम आयोजना गरी जन्मजयन्ती भव्यतापूर्वक मनाएको छ।

कार्तिक २१ गते शनिवार दिउँसो ४ बजेदेखि ५ बजेसम्म परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा देवकोटाको साहित्यिक योगदान, विशेषतः महाकाव्य, कविता र निबन्धका विविध पक्षमाथि चर्चा गरिएको थियो।

‎भानु प्रतिष्ठान नेपाल, मधेश प्रदेशको संयोजन तथा लालबन्दी नगर वाङ्‌मय परिषद्को आयोजनामा सम्पन्न कार्यक्रममा परिषद्का अध्यक्ष अच्युत अधिकारीले सभापतित्व गर्नुभएको थियो। समाजसेवी कुवेर आचार्य प्रमुख अतिथि रहनुभएको कार्यक्रममा लालबन्दी नगरपालिका वडा नं. ९ का निवर्तमान अध्यक्ष गोपाल घिमिरे र युवा अभियन्ता सन्देश आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

‎कार्यक्रममा परिषद्का सचिव सुमन घिमिरे ‘अग्रिम’ले महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, सिर्जनात्मक विशिष्टता तथा नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो। उहाँले देवकोटाका महाकाव्य, कविता र निबन्धमा अभिव्यक्त मानवीय संवेदना, जीवनदृष्टि, प्रकृतिप्रेम, सामाजिक चेतना तथा दार्शनिक चिन्तनलाई नेपाली साहित्यका महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नुभएको थियो।

‎त्यसैगरी युवा अभियन्ता सन्देश आचार्यले देवकोटाले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानमाथि विशेष चर्चा गर्नुभएको थियो। उहाँले देवकोटाको शैक्षिक दृष्टिकोण, शिक्षाप्रतिको प्रतिबद्धता तथा समाज रूपान्तरणमा शिक्षाको भूमिकासम्बन्धी विचारको सान्दर्भिकता औँल्याउनुभएको थियो।

‎नेपाली साहित्यका स्वच्छन्दतावादी धाराका विशिष्ट प्रतिभा देवकोटाले कविता, महाकाव्य, निबन्ध, नाटक तथा आख्यानलगायत साहित्यका विभिन्न विधामा अतुलनीय योगदान पुर्‍याउनुभएको छ। उहाँको सिर्जनामा मानवीयता, स्वतन्त्र चिन्तन, प्रकृतिप्रेम र सामाजिक चेतनाको सशक्त अभिव्यक्ति पाइन्छ। नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा समेत परिचित गराउन उहाँको योगदान महत्त्वपूर्ण मानिन्छ।

‎कार्यक्रमको उद्‌घोषणका साथै देवकोटाको बहुआयामिक व्यक्तित्वका बारेमा परिचर्चा परिषद्का कोषाध्यक्ष विवश पौडेलले गर्नुभएको थियो। साहित्यिक विमर्शमार्फत देवकोटाको बहुआयामिक व्यक्तित्व र कृतित्वको स्मरण गर्नुका साथै उहाँका विचार तथा सिर्जनालाई नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्य कार्यक्रमले राखेको थियो।

‎लालबन्दी नगर वाङ्‌मय परिषद्ले स्थानीय साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रमले महाकवि देवकोटाको साहित्यिक योगदानमाथि विमर्श गर्ने र नेपाली वाङ्‌मयको समृद्ध परम्परालाई जीवन्त राख्ने प्रयासलाई थप महत्त्व दिएको छ।

सम्बन्धित समाचार

सबै