ट्याक्टरमुनि दुई घण्टा च्यापिएका चालकको मृत्यु, उपकरण अभावले उद्धार भएन

विराटनगर : मोरङको कटहरीमा दुर्घटनाग्रस्त ट्याक्टर र त्यसमा लोड गरिएको काठले थिच्दा च्यापिएर चालकको मृत्यु भएको छ। दुर्घटनापछि करिब दुई घण्टाभन्दा बढी समय ट्याक्टरमुनि छटपटिएका चालकलाई समयमै बाहिर निकाल्न नसक्दा ज्यान गएको हो।

मृत्यु हुनेमा धनपालथान गाउँपालिका–१ का ५५ वर्षीय सदानन्द साह छन्। कटहरी गाउँपालिका–६ सनिहाटस्थित भित्री सडक खण्डमा शुक्रबार दिउँसो दुर्घटना भएको हो।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार थलाहाबाट नयाँ बजारतर्फ जाँदै गरेको को २ त ५७९६ नम्बरको काठ लोड गरिएको ट्याक्टर दिउँसो करिब ३ः१० बजे दुर्घटनामा परेको थियो। हिलाम्ये सडकमा नहर कटाउने क्रममा अनियन्त्रित भएर ट्याक्टर पल्टिएको स्थानीयले बताएका छन्। ट्याक्टर पल्टिन लाग्दा भाग्न खोजेका चालक साहलाई लोड गरिएका ठुला गोलिया काठ र ट्याक्टरले थिचेको थियो।

दुर्घटनालगत्तै स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए। घटनास्थलमा प्रहरी चौकी थलाहाबाट असई सञ्जयकुमार चौधरी, प्रहरी चौकी कटहरीबाट सई अशोक कार्की र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर बद्री दाहालको कमान्डमा प्रहरी टोली खटिएको थियो। तर, भारी काठ र ट्याक्टर तत्काल पन्छाउने उपकरण नहुँदा उद्धारमा लामो समय लाग्यो।

प्रत्यक्षदर्शीका अनुसार चालक साह आफ्नै आँखाअगाडि दुई घण्टासम्म ट्याक्टरमुनि छटपटाइरहेका थिए, तर उपकरण अभावमा कसैले उनलाई तत्काल निकाल्न सकेनन्।

अन्ततः साँझ ५ः२० बजेतिर मात्र ट्याक्टर उठाएर उनलाई बाहिर निकालिएको थियो। तर, त्यतिबेलासम्म साहको मृत्यु भइसकेको इन्स्पेक्टर न्यौपानेले जानकारी दिए। कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।

आँखाअगाडि छटपटाइरहेका चालकलाई समयमै उद्धार गर्न नसकिएको यो घटनाले स्थानीय प्रशासनको आपत्कालीन उद्धार तयारीमाथि गम्भीर प्रश्न उठाएको छ। भारी सवारीसाधन दुर्घटना हुँदा तत्काल आवश्यक पर्ने क्रेन, उपकरण र दक्ष जनशक्तिको अभाव देखिँदा स्थानीयले आक्रोश र चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै