भीमफेदी दुर्घटना : सहमतिपछि आफन्त शव बुझ्न तयार, १३ जनाकै सामूहिक दाहसंस्कार गरिँदै

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानीगढीमा भएको हायस दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तहरू अन्ततः शव बुझ्न सहमत भएका छन्।

प्रशासन, जनप्रतिनिधि र पीडित पक्षबीच विभिन्न बुँदामा सहमति जुटेपछि आफन्तहरू शव बुझ्न तयार भएका हुन्।

सहमति भएसँगै हेटौँडा अस्पतालबाट शव बुझेर सर्लाहीतर्फ लैजाने तयारी भइरहेको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए।

अध्यक्ष यादवका अनुसार दुर्घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्ने, दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा पालनपोषणको जिम्मेवारी राज्यले लिने तथा गाडीधनी र बीमा कम्पनीले उपलब्ध गराउने कानुनी क्षतिपूर्तिबाहेक थप रकम उपलब्ध गराउने विषयमा सहमति जुटेको छ।

यसअघि पीडित परिवारले सङ्घीय सरकारबाट विशेष राहत तथा सम्बोधन हुनुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए। सहमति जुटेसँगै हेटौँडा अस्पतालको शवगृहमा रहेका १३ जनाकै शव आफन्तको जिम्मा लगाइएको छ।

शवहरूलाई सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुर्‍याएर सामूहिक रूपमा दाहसंस्कार गर्ने तयारी गरिएको छ। एकै गाउँका १३ जनाको शव ल्याइने भएपछि गाउँलेहरू सामूहिक अन्त्येष्टिको तयारीमा जुटेका छन्।

गाउँमा यतिबेला आफन्त र स्थानीयवासीको रुवाबासीले वातावरण स्तब्ध र शोकमग्न बनेको छ।

सम्बन्धित समाचार

सबै