मलंगवा । मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवलाई आक्रोशित स्थानीयले छठघाटबाटै लखेटेका छन् । छठ पर्वको अवसरमा सपरिवार पूजाआजाका लागि वडा नम्बर ७ स्थित मुसैली पोखरी पुगेका मेयर यादवलाई स्थानीय युवाहरूले नाराबाजी गर्दै लखेटेका हुन् ।
दसैँलगत्तै मुसैली पोखरीको सरसफाइ गराउने, छठ पर्वमा बत्ती जडान गर्ने तथा अन्य पूर्वाधारका काम गर्ने बाचा गरेर पनि पूरा नगरेको भन्दै स्थानीय बासिन्दा मेयर यादवसँग आक्रोशित हुँदै आएका थिए । आज साँझ करिब पौने ६ बजेतिर छठघाट पुगेका यादव स्थानीयको कडा विरोधपछि पूजासमेत नगरी त्यहाँबाट बाहिरिन बाध्य भएका थिए ।
सर्लाही क्याम्पसका स्ववियु सभापति सुजित यादवलगायत दर्जनौँ स्थानीय युवाहरूले मेयरविरुद्ध नाराबाजी गरेका थिए । घटनाबारे जानकारी दिँदै स्ववियु सभापति यादवले भने, ‘मलंगवामा छठ पर्वका लागि बनाइएको पोखरी हामी आफैँले सफा गरेका थियौँ । काम नगर्ने मेयर आएपछि स्थानीयले विरोध गरे र उहाँ त्यहाँबाट भाग्नुभयो ।’
प्रहरीको गस्ती भइरहेकै बेला उक्त घटना भएको यादवले बताए । सोही क्रममा वडा नम्बर ७ का अध्यक्षका छोराहरूसमेत मेयरसँगै लखेटिएका थिए ।
नेपाली कांग्रेसबाट निर्वाचित मेयर यादव र अन्य जनप्रतिनिधिहरूले आफूहरूले भनेका काम तथा पोखरी संरक्षणमा ध्यान नदिए आगामी दिनमा जोसुकै जनप्रतिनिधि आए पनि प्रवेश गर्न नदिने अडान स्थानीयले लिएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने उक्त घटनाबारे आफूहरूलाई हालसम्म कुनै आधिकारिक जानकारी नआएको जनाएको छ ।