महोत्तरी : जिल्लामा पुल मर्मतको माग राख्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन्।
जिल्लाको बलवा नगरपालिकास्थित रातो नदीको पुल जोखिमपूर्ण रहेकाले स्थानीयहरुले बाटो अवरुद्ध गरि तत्काल मर्मत सम्भारको माग गरेका छन्।
जनकपुर-भ्रमरपुरा-बलवा हुलाकी सडकखण्ड अन्तर्गत बलवा नगरपालिकाको बनचौरीस्थित रातो नदीको पुलमुनि खाडल छ। सो पुलमुनिको माटो नै नरहेपछि निकै जोखिम पूर्णरुपमा सवारी साधन संचालन हुँदै आएको छ।
लामो समयदेखि आवाज उठाउँदा पनि सरोकारवालाले वास्ता नगरेपछि बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय वुषेश महतोले जनाए।
जोखिमपूर्ण पुल हुँदै चारपाङ्ग्रे सवारीसाधन समेत संचालन गर्दा पनि सोको मर्मत सम्भारका लागि ध्यान नदिँदा स्थानीयवासीहरुले सो पुललाई घेरबार गर्दै सडक अवरुद्ध गरेको उनले बताए।
पुलसँगै बनेको खाडलको कारण सवारीको दुर्घटना बढेको भन्दै तत्काल सडक तथा पुल मर्मत गर्नुपर्ने स्थानीयले माग गरेका छन्।
सडक नबनाइए पुरै सडक जाम गर्ने उनीहरूले चेतावनी समेत दिएका छ्न्।