जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन् । माइतमा बस्दै आएकी श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा तथा श्रीमान्को रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।
प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादव मृत फेला परेकी हुन् । उनको घाँटीमा धारिलो हतियार प्रहार गरिएको गम्भीर घाउ रहेकाले उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
त्यस्तै, रिनाका श्रीमान् ३५ वर्षीय उमेश यादव घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उमेशको स्थायी ठेगाना मिथिला बिहारी नगरपालिका–४ भरतपुर हो । वैदेशिक रोजगारबाट केही दिनअघि मात्रै स्वदेश फर्किएका उमेश बिहीबार (हिजो) मात्र ससुराली मथिलेश्वर पुगेका थिए ।
घटनामा मृतक दम्पतीका ४ वर्षीय छोरासमेत घाइते भएका छन् । बालकको एउटा तिघ्रामा धारिलो हतियार प्रहारको घाउ देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालले घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको बताए । “घटनास्थलको प्रकृति हेर्दा विषय गम्भीर र शंकास्पद देखिएको छ,” डीएसपी खनालले भने, “प्रहरी टोली घटनास्थलमा पुगेर विस्तृत अनुसन्धान गरिरहेको छ ।”
घटनाको यथार्थ कारण खुल्न नसके पनि पारिवारिक विवाद वा अन्य कुनै कारणले घटना घटेको हुन सक्ने अनुमान गर्दै प्रहरीले विभिन्न कोणबाट छानबिन अगाडि बढाएको छ ।
बालकको उपचार तथा दुवै शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।