काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु उत्पादक किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ।
अनुदान वितरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक कार्यविधिसमेत स्वीकृत गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त अनुदान वितरणसम्बन्धी कार्यविधि स्वीकृत गरेकी हुन्।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि निकासा भएको एक अर्ब ५० करोड ५० हजार रुपैयाँ देशभरका उखु उत्पादक किसानहरूलाई वितरण गरिनेछ।
यस अनुदानबाट विशेषगरी बर्दिया,सर्लाही,रौतहट, कैलाली र कञ्चनपुरलगायत उखु खेतीको राम्रो सम्भावना रहेका जिल्लाका किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने मन्त्रालयले जनाएको छ।
सरकारले उखु खेतीप्रति किसानको आकर्षण बढाउन, कृषि उत्पादनमा वृद्धि गर्न र उखु उत्पादनमा लाग्ने लागत घटाएर किसानलाई राहत दिने उद्देश्यले यो प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका अनुसार यस कार्यक्रममार्फत किसानलाई उखुको प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ।
मन्त्रालयको यो निर्णयले लामो समयदेखि उखु खेतीमा संलग्न किसानहरूलाई थप हौसला मिल्ने र उखु उत्पादनमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।