महोत्तरीमा उखुबारी भित्र महिलाको शव फेला

महोत्तरी । महोत्तरीको गौशालामा हत्या गरिएको आशंकामा एक महिलाको शव फेला परेको छ ।

शुक्रबार बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामी मृत अवस्थामा फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माका अनुसार पुलामी बिहीबार घाँस काट्न घरबाट निस्किएकी थिइन् । उनी शुक्रबार बिहान उखुबारीमा मृत फेला परेकी हुन् ।

शवको प्रकृति हेर्दा पुलामीको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकको घाँटीमा गम्छा कसिएको जस्तो देखिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।

‘गम्छाले घाँटी कसेको जस्तो देखिन्छ । हत्याको आशंकामा सूक्ष्म अनुसन्धान थालेका छौँ,’ प्रहरी निरीक्षक विश्वकर्माले भने, ‘डीएसपी साब पनि अहिले घटनास्थलमा आउनुभएको छ । प्रहरीको तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ ।’

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै