सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, संलग्न चारसहित ६ जना पक्राउ

मलंगवा । सर्लाही प्रहरीले अपहरण गरी बन्धक बनाइएका एक व्यक्तिको सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार  एक प्रेस विज्ञप्ति जारी गर्दै अपहरण तथा शरीर बन्धक कसूरमा संलग्नहरूलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रहरीका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे सर्लाहीको कौडेना गाउँपालिका–२, फुलपरासीबाट गोडैता नगरपालिका–९ बस्ने अन्दाजी ३७ वर्षीय सुनिल कुमार रायको अपहरण भएको थियो । दुईवटा मोटरसाइकलमा आएका सन्तोष कुमार महतोसहित ४/५ जनाको समूहले रायलाई कुटपिट गर्दै पिकअप गाडीमा हालेर बरहथवा तर्फ लगेका थिए ।

पीडित रायका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा घटनाबारे जानकारी गराएपछि प्रहरीले तत्कालै प्रारम्भिक अनुसन्धान र खोजतलास सुरु गरेको थियो । खोजीका क्रममा भोलिपल्ट अर्थात् कात्तिक २८ गते बिहान ९ बजे बरहथवा नगरपालिका–५ स्थित राज कुमार महतोको घरको कोठाभित्र बन्धक बनाई राखिएको अवस्थामा रायलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धारका क्रममा घटनास्थलबाटै बरहथवा–५ का अन्दाजी ३१ वर्षीय सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटनामा संलग्न अन्य व्यक्तिहरू सोही दिन बरहथवा–७ स्थित दुध डेरी चौकबाट पक्राउ परेका हुन् ।

अपहरणमा संलग्न आरोपमा पक्राउ पर्नेहरूमा बरहथवा नगरपालिका–५ बस्ने अन्दाजी ५४ वर्षीय बिशेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो, २५ वर्षीय अमित कुमार महतो र ३१ वर्षीय सन्तोष कुमार महतो रहेका छन् ।

वैदेशिक रोजगारको विवाद र गलत सूचनाको रहस्य
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पीडित र आरोपितहरूबीच वैदेशिक रोजगार सम्बन्धी विवाद रहेको र सोही विवादको रकम जबरजस्ती असुल उपर गर्ने प्रयोजनका लागि अपहरण गरिएको खुल्न आएको छ ।

यसैबीच, अपहरणकारीले फिरौती माग गरेको र फिरौती रकम तिर्न जाँदा ३ लाख रुपैयाँ तथा गरगहना समेत लुटेको भनी गलत सूचना दिई घटनालाई अतिरञ्जित बनाउने अन्य दुई जना व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धक कसूरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै