धनकौल । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचार नपाएर मृत्यु भएको छ ।
धनकौल गाउँपालिका–२, तेल बजार निवासी बिदेनी साहकी ४५ वर्षीया श्रीमती बच्ची देवीको गएराति घरमै मृत्यु भएको हो । अघिल्लो महिना कात्तिक २९ गते साँझ अज्ञात मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन् ।
मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लाग्नुका साथै बायाँ खुट्टा भाँचिएर गम्भीर घाइते भएकी बच्ची देवीको उपचार अभावका कारण घरमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
बच्ची देवीलाई ठक्कर दिने मोटरसाइकल हालसम्म फेला नपरेको बताइएको छ ।