बसबरिया । किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका रायलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले राय पक्राउ परेको पुष्टि गरे । उनका अनुसार किर्ते हस्ताक्षर गरी गाउँसभा पारित गरेको आरोपमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि अध्यक्ष रायलाई नियन्त्रणमा लिइएको हो ।
अध्यक्ष रायमाथि आर्थिक वर्ष २०८०/८१ को गाउँसभामा वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर किर्ते गरी बजेट पारित गरेको आरोप छ ।
प्रहरी स्रोतका अनुसार गाउँसभा बैठकमा बजेटको निर्णय गर्दा अवस्था आधाआधा भएपछि अध्यक्ष रायले वडा सदस्य सहनीको हस्ताक्षर किर्ते गरेर बजेट पारित गराएका थिए ।
यस विषयमा गाउँपालिकाकी उपाध्यक्ष पक्षले अध्यक्ष रायविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।