बागमती । उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई हटाउने निर्णयको विरोधमा बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीले मंगलबार सर्लाहीको कर्मैयास्थित आयोजना कार्यालयको मूल गेटमा तालाबन्दी गर्नुका साथै धर्ना दिएको हो ।
आयोजनाका विभिन्न पदमा कार्यरत २४४ जना ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित कर्मचारीहरूले दैनिक ज्यालादारी कर्मचारीका लागि तोकिएको उमेर हद खारेज गर्नुपर्ने र २०८३ कात्तिक ११ गते प्रकाशित सिँचाइ नर्म्समा सुधार गर्नुपर्ने माग राखेका छन् ।
संघर्ष समिति/आन्दोलन परिचालन कमिटीका संयोजक सुरज पासवानका अनुसार पूर्वघोषित कार्यक्रमबमोजिम मंसिर १ देखि ७ गतेसम्म कार्यालयको मूल गेटमा तालाबन्दी र धर्ना कार्यक्रम जारी रहनेछ ।
त्यस्तै, मंसिर ८ देखि १३ गतेसम्म कार्यालयको मूल गेटका साथै सवारी साधन प्रवेश गर्ने गेटमा समेत तालाबन्दी गरेर धर्नामा बस्ने कार्यक्रम तय गरिएको छ । संयोजक पासवानले मंसिर १४ गतेदेखि हेडवर्क्स ब्यारेजका गेटहरू ‘सर्भिस मोड’मा राखेर माग पूरा नभएसम्म धर्नालाई निरन्तरता दिइने जानकारी दिए ।
यता, संघर्ष समितिका सदस्य उद्धव घिमिरेले हालसम्म कार्यालयका तर्फबाट आन्दोलनरत पक्षसँग वार्ताका लागि कुनै पहल नभएको बताए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने समितिको अडान छ ।