सर्लाही । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनाका पीडित परिवारसँग भेटघाट गरेका छन् ।
सभामुख अर्यालले आज सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेका आफन्तसँग भेट गरेका हुन् ।
भेटघाटका क्रममा सभामुख अर्यालले दुर्घटनाबाट प्रभावित परिवारसँग कुराकानी गर्दै राज्य पीडितहरूको साथमा रहेको आश्वासन दिए । उनले पीडित परिवारलाई नआत्तिन आग्रह गर्दै घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
दुःखद घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै सभामुख अर्यालले यस कठिन परिस्थितिमा पीडित परिवारलाई साथ र सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उक्त भेटघाटमा सर्लाही क्षेत्र नम्बर ३ का संघीय सांसद नरेन्द्र साह, सर्लाही क्षेत्र नम्बर २ का सांसद रवीन महतो लगायत अन्य संघीय सांसदहरूको समेत उपस्थिति रहेको थियो ।
सभामुखसहितको टोलीले पीडित परिवारको अवस्था बुझ्दै आवश्यक सहयोग र राहतका विषयमा आश्वस्त पारेको छ ।