धनुषामा छठघाट कुर्न बसेका वृद्ध मृत अवस्थामा फेला, हत्याको आशङ्का

धनुषा । धनुषाको सहिदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुर्न बसेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मतौनाकै स्थानीय ६० वर्षीय रामजतन यादव सोमबार बिहान करिब ६ बजे पोखरीमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादव धनी पोखरीमा छठघाट निर्माण गरी आइतबार राति एक्लै कुर्न बसेका थिए । स्थानीयवासीले उनलाई ‘म्यानेजर’ नामले समेत बोलाउने गरेको प्रहरीले जनाएको छ ।

मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटिएको जस्तो चोट देखिएको छ । प्रहरीले घटनास्थल नजिकै पोखरीको पानीमा पराल काट्ने दाउसमेत फेला पारेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालको कमान्डमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

डीएसपी खनालका अनुसार घटनास्थलको मुचुल्का तयार गरी शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।
प्रहरीले घटनास्थलबाट अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा समेत लिएको छ ।

यादवको हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ । यद्यपि, घटनामा संलग्न व्यक्तिको पहिचान तथा मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार

सबै