सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरस्थित सडकखण्डमा कार र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।
मंगलबार बिहान १०ः२० बजे महोत्तरीको सम्सीबाट शीतलपुरतर्फ जाँदै गरेको बा २१ च ३०१५ नम्बरको कार फर्काउने क्रममा सोही दिशाबाट आउँदै गरेको ज १ ह ३७४५ नम्बरको अटोसँग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा अटो चालक महोत्तरीको सोनमा गाउँपालिका–५ का ३५ वर्षीय रविन्द्र यादवसहित ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि महोत्तरीको रघुनाथपुरस्थित आरबी अस्पताल लगिएको थियो ।
उनीहरूमध्ये महोत्तरीको सम्सी गाउँपालिका–७ का ६० वर्षीय राजकिशोर साह र सर्लाहीको मलंगवा नगरपालिका–१२ गमरियाकी रेनु देवी साहका ७ वर्षीय छोरा मुरारी साहको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका–६ सकरौलका २१ वर्षीय जसविन्द्र मुखिया, मलंगवा नगरपालिका–१२ गमरियाकी २८ वर्षीया रेनु देवी साह र मलंगवा नगरपालिका–७ मुसैलीकी १६ वर्षीया अम्बिका यादव पनि घाइते भएका छन् । रेनु देवीको अवस्था सामान्य रहेको छ ।
प्रहरीले कार चालक महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरका ५१ वर्षीय मनोज कुमार साहलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।