कौडेना । सर्लाहीको कौडेना गाउँपालिका–१, सुखचैनास्थित महादेव मठको जग्गा अतिक्रमण गरी बनाइएका घरहरू भत्काउन गाउँपालिकाले डोजर चलाएको छ ।
वर्षौँदेखि अतिक्रमणमा परेको मठको जग्गा खाली गराउन गाउँपालिका कार्यालयले आज बुधबार दिउँसोबाट पक्की तथा कच्ची संरचना भत्काउने कार्य अघि बढाएको हो ।
मठको जग्गामा जबरजस्ती निर्माण गरिएका तीन वटा पक्की र दुईवटा कच्ची घर भत्काइएको गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले बताए ।
अतिक्रमित जग्गामा बनाइएका संरचनाहरू भत्काउने कार्य हाल पनि जारी छ ।
जग्गा खाली गर्न बारम्बार सूचना जारी गर्दा पनि बेवास्ता गरिएपछि गाउँपालिकाले अतिक्रमित क्षेत्रमा डोजर चलाएको हो । अतिक्रमण हटाउने क्रममा अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी खटिएका छन् ।