बरहथवा । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्त तथा आक्रोशित समूहले तोडफोड र आगजनी गरेका छन् ।
आगजनीका कारण अस्पतालको इमर्जेन्सी कक्षमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बरहथवा नगरपालिका–५, हातीडण्डा पानीट्यांकी टोल निवासी रुपेश रामकी २१ वर्षीया श्रीमती सिमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । नौ महिनाकी गर्भवती सिमा तीन दिनदेखि बिरामी भई सोही अस्पतालमा उपचाररत थिइन् ।
प्रहरीका अनुसार मंसिर ६ गते साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको यस्तो अवस्था आएको भन्दै आफन्तले अस्पतालभित्र तोडफोड र आगजनी गरेका थिए ।
सिमालाई थप उपचारका लागि राति १०ः४५ बजे चन्द्रनिगाहपुरस्थित अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले राति १०ः५३ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
अस्पतालमा आगजनी र तोडफोड भएपछि राति करिब १०ः३० बजे प्रहरीलाई खबर गरिएको थियो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक किरण लामाको कमान्डमा ३० जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक जीवन श्रेष्ठको कमान्डमा १८ जना तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुर चौहर्वाबाट ९ जनाको सुरक्षा टोली घटनास्थलमा खटिएको थियो । सुरक्षाकर्मीको सहयोगमा अस्पतालमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
अस्पतालका सूचना अधिकारी राजेश गुप्ता र चिकित्सक राकेश यादवसँगको समन्वयमा आगजनी तथा तोडफोडबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन राम रहेका छन् ।
त्यस्तै, अस्पतालमै करारमा कार्यरत बरहथवा–५ निवासी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महराले पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोप लागेको छ । घटनापछि फरार रहेका उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटनापश्चात् अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । मंसिर ७ गते बिहान ६ः१५ बजेसम्म अस्पताल क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
उपचारका क्रममा गर्भवती महिलाको मृत्यु हुनुको वास्तविक कारण र चिकित्सकीय लापरबाही भए–नभएको विषय भने अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।