बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
भिमानबाट बर्दिबासतर्फ आउँदै गरेको बा.प्र.०१–००७ ख १७८६ नम्बरको ईभी माइक्रोले विपरीत दिशाबाट जाँदै गरेको प्र२–०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका–११ घर भई हाल बर्दिबास–१ गालटार बस्ने ४० वर्षीय सुजनबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार मगरकी श्रीमती ३५ वर्षीया फुलकुमारी थापा र उनकी तीन वर्षीया छोरी सिसाकुमारी थापा गम्भीर घाइते भएका छन्। फुलकुमारीको शरीरको भित्री भागमा र सिसाकुमारीको टाउकोमा चोट लागेको छ।
यस्तै, स्कुटर चालक सिन्धुलीको दुधौली नगरपालिका–३ ढुंगाटोलका २४ वर्षीय रमेश चौधरी घाइते भएका छन्। घाइते तीनै जनाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिएपछि अनियन्त्रित भएको ईभी सडकबाट करिब १० फिट तल खसेको थियो। ईभीमा सवार यात्रुहरू भने सकुशल रहेकाले आ–आफ्नो गन्तव्यतर्फ लागिसकेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ईभीका चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ। ईभीका सहचालक सप्तरीको राजविराज नगरपालिका–७ बस्ने २२ वर्षीय मिलन साह प्रहरी नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।