सिड्नी । अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको कार दुर्घटनामा परी निधन भएको छ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, बनौली घर भई अस्ट्रेलियामा नर्सिङ अध्ययन गरिरहेकी २५ वर्षीया सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु भएको हो।
न्यु साउथ वेल्स प्रहरीका अनुसार, गत शुक्रबार अर्थात् सन् २०२६ अक्टोबर २ (असोज १६ गते) साँझ ५ बजे ब्ल्याक स्प्रिङ्सनजिकैको डग रक्स रोडमा राई सवार कार अनियन्त्रित भई सडकबाट बाहिरिएर रुखमा ठोक्किएको थियो।
चाल्स स्टर्ट विश्वविद्यालयमा नर्सिङ अन्तिम सेमेस्टरमा अध्ययनरत राई आफ्नो व्यावहारिक अभ्यास (प्लेसमेन्ट) सकेर गाउलबर्नबाट बाथस्र्टस्थित निवास फर्कने क्रममा दुर्घटनामा परेकी थिइन्।
घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले उनको ज्यान बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्। सोही दुर्घटनामा परी कारमा सवार अर्की २४ वर्षीया नेपाली विद्यार्थी पनि घाइते भएकी छिन्। टाउको र छातीमा चोट लागेकी उनको लिभरपुल अस्पतालमा उपचार भइरहेको छ।
उच्च शिक्षा पूरा गरी अस्ट्रेलियामै दर्तावाल नर्सका रूपमा व्यावसायिक जीवन सुरु गर्ने सपना बोकेकी राईको असामयिक निधनले परिवार र अस्ट्रेलियास्थित नेपाली समुदाय स्तब्ध बनेको छ।
शव नेपाल पठाउन सहयोग अभियान
अस्ट्रेलियाबाट सञ्चालित ‘नेपालट्युब’का अनुसार, मृतक राईको पार्थिव शरीर नेपाल ल्याएर अन्तिम संस्कार गर्नका लागि नेपाली समुदायले आर्थिक सहयोग जुटाएको छ।
उनका श्रीमान् सागर मोक्तानको अनुरोधमा दाजु योगेश राईले सुरु गरेको अनलाइन सहयोग अभियानमार्फत ५३६ जना दाताबाट ३६ हजार ३९० अस्ट्रेलियन डलर संकलन भएको छ।
संकलित रकम शव नेपाल पठाउन, अन्तिम संस्कार गर्न र परिवारलाई आवश्यक सहयोगका लागि खर्च गरिने जनाइएको छ।हाल परिवार उनको पार्थिव शरीर नेपाल ल्याई पारिवारिक परम्पराअनुसार अन्तिम बिदाइ गर्ने प्रक्रियामा जुटेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।