हुरीले उडाएको जस्ताले काट्दा १०७ वर्षीय वृद्धको मृत्यु

वीरगञ्ज : हुरीबताससहितको आएको वर्षाका कारण बिहीबार एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ।

हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर विन्ध्वासिनी गाउँपालिका-२ का गुबेरी साहको ज्यान गएको हो। घरमा बसिरहेका उनलाई धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानका अनुसार उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

त्यसैगरी हुरीका कारण पर्साको बहुदरमाई गाउँपालिका-७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एक जना घाइते भएका छन्। घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो रहेका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएपछि उनी डिस्चार्ज भइसकेका छन्।

सोही गाउँपालिकामा हुरीबतासका कारण चार वटा बाख्रा पनि मरेका छन्। हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ। जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै