धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, ४ जनाको सकुशल उद्धार

धनुषा । धनुषाको मिथिला नगरपालिका-११, आँपगाछीमा पहिरोले घर पुर्दा एक महिलाको मृत्यु भएको छ ।

आज बिहान करिब ०९:१० बजे राजन श्रेष्ठको एकतले टालीको छानो भएको घरमाथि पहिरो खस्दा घर पुरिएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो । प्रहरीका अनुसार उक्त घरमा ५ जना व्यक्तिहरू रहेका थिए ।

जसमध्ये ४ जनालाई प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ । पहिरोमा पुरिएकी राजन श्रेष्ठकी श्रीमती अन्दाजी ३५ वर्षीया कमला श्रेष्ठको भने बिहान ११:०० बजे मृत अवस्थामा शव निकालिएको छ ।

मृतकको शव परीक्षणका लागि बर्दिबास अस्पताल महोत्तरी पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै