जनकपुरधाम । धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ स्थित सपहीचोकमा स्कारपियो गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ढल्केबर–जनकपुर सडकखण्डमा आज भएको दुर्घटनामा स्कुटर चालक ३० वर्षीया पुनम साहको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा.प्र. ०१–०३१ च ९०६३ नम्बरको स्कारपियोले परीक्षण कालमा रहेको विद्युतीय स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। यद्यपि, अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए।
प्रहरीले घटनामा संलग्न स्कारपियो र चालक विराटनगर महानगरपालिका–७ निवासी ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।