लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ४७ करोड ९७ लाख ९९ हजार ३७० रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
आज आरम्भ भएको नगरसभाको १६ औँ अधिवेशनमा नगरउपप्रमुख कल्पनामाया पाख्रिनले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। यो बजेट अहिलेका जनप्रतिनिधिहरूको कार्यकालको अन्तिम बजेट हो।
नगरपालिकाले १७ वटा वडालाई ९७ लाखदेखि १ करोड ४५ लाख रुपैयाँसम्म बजेट विनियोजन गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पशु, आर्थिक विकास, सामाजिक विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तयार पारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले जानकारी दिए।
हाल सर्लाहीका स्थानीय तहहरू धमाधम बजेट प्रस्तुत गर्ने कार्यमा व्यस्त छन्। संवैधानिक व्यवस्थाअनुसार पालिकाहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट गाउँ एवं नगर सभामा पेस गरिसक्नुपर्नेछ।