वीरगन्जमा श्रीमतीको हत्या गरी फरार श्रीमान् महोत्तरीबाट पक्राउ

महोत्तरी : आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका-७ घर भई पर्साको वीरगन्ज महानगरपालिका-१० बजरंग टोलमा बस्दै आएका ४५ वर्षीय रामनारायण दास तत्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत जेठ १४ गते तत्माले मादक पदार्थ सेवन गरी ४२ वर्षीया आफ्नी पत्नी हलसिया कुमारीमाथि फलामको हतियार प्रहार गरी हत्या गरेका थिए। घटनालगत्तै उनी वीरगन्जबाट फरार भएका थिए।

पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले दिएको जानकारी अनुसार फरार तत्मा महोत्तरीको रामगोपालपुर नगरपालिका-७ मा लुकेर बसेको अवस्थामा आइतबार पक्राउ परेका हुन्।

महोत्तरीबाट पक्राउ गरिएका तत्मालाई वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर थप अनुसन्धान भइरहेको छ। उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइने बस्नेतले बताए।

सम्बन्धित समाचार

सबै