महोत्तरी : महोत्तरीको मरहा नदीमा भइरहेको अवैध उत्खननमा जिल्ला समन्वय समिति महोत्तरीले हस्तक्षेप गरेको छ। बिहीबार दिउँसो अनुगमनका लागि पुगेको समितिको टोलीले अवैध उत्खननमा प्रयोग भइरहेका ७ वटा टिपर र ३ वटा स्काईभेटर नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार नियन्त्रणमा लिइएका यी सवारी साधनहरू हाल प्रहरीको निगरानीमा राखिएको छ। नगरपालिकाको कार्यालय बन्द भइसकेको अवस्थामा सवारी साधनहरू प्रहरीलाई बुझाइएको थियो।
इलाका प्रहरी कार्यालय गौशाला स्रोतले जनाएअनुसार पक्राउ परेका सवारी साधनहरूमाथि थप कारबाहीका लागि नगरपालिकाको कार्यालयमा बुझाउने तयारी भइरहेको छ।
यस घटनाले महोत्तरीमा नदीजन्य पदार्थको अवैध उत्खननको समस्या अझै व्याप्त रहेको देखाएको छ।