बारामा सर्पदंशका कारण एक हप्तामै दुई बालिकाको मृत्यु

जीतपुरसिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशको घटनाले एक हप्ता नबित्दै अर्को एक बालिकाको ज्यान गएको छ।

पछिल्लो घटनामा जीतपुरसिमरा उपमहानगरपालिका-१४ मौलापुरकी पाँच वर्षीया दियान्सी रानामगरको बिषालु सर्पको डसाइबाट बिहीबार राति मृत्यु भएको हो।

परिवारका अनुसार बालिका दियान्सी राति ८ बजे घरको पिढीमा बसिरहेको बेला सर्पले डसेको थियो। सर्पले डसेपछि तत्काल उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमै उनको निधन भएको हो। बालिकाको शव राति नै घर फर्काइएको छ।

जीतपुरसिमरा-१४ स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीपेन्द्र साहले घटनाबारे जानकारी आएको पुष्टि गरेका छन्। स्थानीय कृष्ण बहादुर र दिपिका राना मगरकी छोरी दियान्सी जीतपुरसिमरा-१४ स्थित साना किसान शिक्षा सदनमा एलकेजीमा अध्ययनरत थिइन्। उनको असामयिक निधनपछि जीतपुरसिमराका निजी विद्यालयहरूले आज (शुक्रबार) शोक बिदा दिएका छन्।

यो घटनासँगै जीतपुरसिमरामा सर्पदंशको जोखिम थप बढेको देखिएको छ। एक हप्ता नबित्दै दुई बालिकाले सर्पदंशबाट ज्यान गुमाउनु परेको छ। यसअघि गत असार ८ गते जीतपुरसिमरा-१५ डुमरवानास्थित डाँडाटोलकी चार वर्षीया सुप्रिना दोङको पनि सर्पले डसेर ज्यान गएको थियो।

यस क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि भएसँगै स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले सर्पदंशबारे जनचेतना फैलाउन र उपचारका लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार

सबै