सिरहा । सिरहामा प्रहरीले शुक्रबार गोली चलाएर एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम रहेका छन्। उनको खुट्टामा गोली लागेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
भारतसँग सीमा जोडिएको सिरहाको नवराजपुर गाउँपालिका–४ मा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। प्रहरीको सर्च अभियानका क्रममा लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका कलामलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ। उनको साथबाट प्लास्टिकसहित १२२.८ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मेश बहादुर पाललका दुईवटा मोटरसाइकलमा चार जना आएका थिए। प्रहरीको गोली चलेपछि तीन जना फरार भएका छन्।
प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेट भएका दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ। फरार भएका तीनै जना भारततर्फ भागेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पालले बताए ।