मल अभावका बीच वडा सदस्यमाथि मल अन्यत्र लैजान खोजेको आरोप, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

धनुषा । खेतीपातीको मुख्य सिजनमा किसानहरू रासायनिक मलको चरम अभाव झेलिरहेका बेला धनुषामा एक जनप्रतिनिधिमाथि नै मल लुकाएर अन्यत्र लैजान खोजेको गम्भीर आरोप लागेको छ ।

धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश साहमाथि मल डिलरबाट ट्याम्पुमा लुकाएर अर्को स्थानीय तहमा लैजान खोजेको आरोप लागेको हो ।

स्थानीयका अनुसार वडा सदस्य साहले डिलरबाट मल लिई ट्याम्पुमार्फत छिमेकी मिथिला बिहारी नगरपालिकातर्फ लैजान लागेको पूर्वसूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा स्थानीय युवाहरूले ट्याम्पुलाई रोकी मल नियन्त्रणमा लिएका हुन् । नियन्त्रणमा लिइएको उक्त मललाई वडा कार्यालयमा लगेर सुरक्षित रूपमा राखिएको छ ।

जनप्रतिनिधिबाटै मल हिनामिना गर्न खोजिएको भन्दै आक्रोशित बनेका स्थानीयले घटनाको विरोधस्वरूप वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

लामो समयदेखि मल नपाएर खेती प्रभावित भइरहेको अवस्थामा जिम्मेवार जनप्रतिनिधिले नै ठूलो परिमाणको मल अन्यत्र पठाउन खोज्नु निन्दनीय भएको स्थानीयको भनाइ छ ।
उनीहरूले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न जोडदार माग गरेका छन् ।

यस घटनापछि वडा क्षेत्रमा केही समय तनाव उत्पन्न भएको थियो । स्थानीयले सम्बन्धित निकायहरूलाई घटनाको सत्यतथ्य छानबिन गरी मल वितरण प्रक्रियामा भइरहेको अनियमितता सार्वजनिक गर्न आग्रह गरेका छन् ।

घटना सार्वजनिक भएपछि सम्बन्धित निकायले यस विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । यद्यपि, आरोपित वडा सदस्य सुरेश साहसँग भने प्रतिक्रियाका लागि सम्पर्क हुन सकेको छैन ।

यसैबीच, कृषि सामग्री कम्पनी, स्थानीय प्रशासन तथा धनुषाधाम नगरपालिकाले पनि यस घटनाबारे आवश्यक छानबिन गर्ने तयारी गरेका छन् । अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा दोषी देखिएमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रशासनिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

सबै