सिन्धुली । पत्रकारको परिचयपत्र दुरुपयोग गर्दै लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कारसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिरहाको लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
प्रहरीका अनुसार आरोपीहरू सिरहाको मिर्चैयाबाट कारमा लागुऔषध खैरो हेरोइन लिएर काठमाडौँतर्फ आउँदै थिए। सुरक्षा जाँचबाट बच्नका लागि उनीहरूले पत्रकारको परिचयपत्र प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
कार चालक उमेश यादवको साथबाट लहान–२२, सिरहा ठेगाना उल्लेख भएको ‘जनजागरण खबर’ को पत्रकार परिचयपत्र बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिए। उक्त कार हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरिएको समेत अनुसन्धानका क्रममा खुलेको छ।
प्रहरीले कारको गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।