लहानः औषधि खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा सिरहा नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध आज विषेश अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।
आव २०७४/०७५ मा गाउँपालिकाले नियोमेड इन्टरनेशनलसँग ५७ प्रकारको औषधिजन्य मालसमान खरिद गरेको थियो। उक्त मालसमानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनबिना नै आपूर्तिकर्ताले पेश गरेको बिलबमोजिमकै सम्पूर्ण रकम भुक्तानी दिएको आयोगले ठहर गरेको छ।
औषधि खरिदमा ६ लाख २० हजार ९६ रुपैयाँ भ्रष्टाचार गरेको र सोबमोजिम बिगो कायम गरी आयोगले उनी दुबै जनाविरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यस्तै धनुषाको बरमझियास्थित श्री माध्यमिक विद्यालयका राहत शिक्षक ब्रह्मदेव यादवले नक्कली अध्यापन अनुमतिपत्र पेश गरी नियुक्ति भई तलब भत्ता खाइरहेको पाइएको भन्दै उनीविरुद्ध आरोपपत्र दायर गरिएको छ।