हरिवनः रौतहटमा एक जना जितिया ब्रतालुको डुबेर मृत्यु भएको छ।
नुहाउने क्रममा पोखरीमा डुबेर राजदेवी नगरपालिका-८ लक्ष्मीपुर गाउँ छेउको पोखरीमा सोमबार दिउँसो स्थानीय ४५ वर्षीया गिरिजादेवी कानुको डुबेर मृत्यु भएको हो।
व्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको संयुक्त टोलीले महिलाको उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारका लागि पठाएको थियो।
तर डाक्टरले महिलालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल-११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिएका छन्।
मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
त्यस्तै माधवनारायण नगरपालिका-८ रजवडास्थित बागमती नदीमा जितिया पर्वको लागि साथीहरूसँग नुहाउन गएका एक जना युवक बेपत्ता भएका छन्।
१८ वर्षीय श्यामलाल सहनी आज दिउँसो साथीहरूसँग बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपता भएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले बताए।
उक्त स्थानमा १२ बजेर ५ मिनेटमा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेक्वा रौतहटबाट डीएम टोली खटिएको एसपी हुमागाईंले जानकारी दिए।