मेची-महाकाली पदयात्रा सुरू गर्ने अमरेशकुमार सिंहको घोषणा

जनकपुर । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरेर द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्।

आइतबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले अबको राजनीति समाजलाई जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए। ‘हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ,’ उनले भने।

सिंहले छठ पर्वका अवसरमा जनकपुरस्थित गंगासागरमा अर्घ दिएर जानकी मन्दिरको दर्शन गरेपछि झापाको भद्रपुरबाट मेची–महाकाली पदयात्रा सुरू गर्ने घोषणा गरेका छन्। उनकाअनुसार यात्रा गाडी वा रथमा नभई पैदल हुनेछ। जनतासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका समस्या सुन्ने उद्देश्यले पदयात्रा गर्न लागिएको उनले बताए।

गाउँ–गाउँ र टोल–टोल पुगेर स्थानीयसँग छलफल गर्ने तथा आफूले कम बोल्ने र जनताको कुरा बढी सुन्ने उनको भनाइ छ। मञ्च बनाएर भाषण गर्नुभन्दा स्थानीयका समस्या सुन्ने योजना रहेको उनले बताए।

पदयात्राका क्रममा युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदुरका समस्या, व्यापारीका समस्या र मधेसको अर्थतन्त्र चलायमान हुन नसक्नुका कारणबारे स्थानीयसँग छलफल गर्ने सिंहले बताए।

सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या, सीमापार व्यापार, पारिवारिक तथा सामाजिक सम्बन्ध र सुरक्षासँग सम्बन्धित विषय पनि यात्राका क्रममा उठाउने उनले बताए।

सिंहले मधेसको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले मधेसमा विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने र सरकारी अस्पताल तथा विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार आवश्यक रहेको बताए। मुटु, मिर्गौला र क्यान्सरजस्ता जटिल रोगको उपचारका लागि सरकारी स्तरमै सुपर स्पेसियलिटी सेवा आवश्यक रहेको उनको भनाइ छ। मधेसमा सरकारी मेडिकल, इन्जिनियरिङ तथा कृषि कलेज पर्याप्त नभएको भन्दै उनले यस्ता शैक्षिक संस्थाको विस्तार गर्नुपर्ने बताए।

मधेसको विकासका लागि सडक र सिँचाइलाई पनि प्राथमिकतामा राख्नुपर्ने सिंहले बताए। हुलाकी राजमार्ग पूर्ण रूपमा सम्पन्न हुन नसकेको तथा कमला र वागमती लगायतका क्षेत्रमा पुल तथा पूर्वाधार निर्माणमा समस्या रहेको उनले बताए।

मधेसका खेतमा पर्याप्त सिँचाइ सुविधा पुर्‍याउन नसकिएको भन्दै उनले कोशीको पानी सप्तरी–सिरहासम्म र गण्डकको पानी बारा, पर्सा तथा रौतहटसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताए।

सिंहले पोखरी सौन्दर्यीकरणमा ठूलो रकम खर्च गर्ने तर विद्यालय र अस्पतालको भौतिक अवस्था सुधारमा पर्याप्त ध्यान नदिने प्रवृत्तिमाथि प्रश्न उठाए। उनले विकास भनेको कंक्रिट निर्माण मात्र नभएको भन्दै स्थानीय आवश्यकता र वातावरणीय प्रभावलाई ध्यान दिएर योजना बनाउनुपर्ने बताए।

सिंहले मधेस आन्दोलनको उद्देश्य संविधानमा केही विषय लेखाउने वा राजनीतिक नेतृत्व निर्माण गर्ने मात्र नभई आर्थिक विकास, राजनीतिक सहभागिता र समान अवसर सुनिश्चित गर्नु रहेको बताए।

मधेसको वर्तमान अवस्थाका लागि काठमाडौंलाई मात्र दोष दिन नहुने भन्दै उनले मधेसका राजनीतिक नेतृत्व र स्थानीय तहले पनि आफ्ना कमजोरीको समीक्षा गर्नुपर्ने बताए।

सम्बन्धित समाचार

सबै