गौरः अविरल वर्षाका कारण सदरमुकाम गौरस्थित भन्सार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण सरकारी र सार्वजनिक सेवा क्षेत्र ठप्प भएको छ भने जनजीवन कष्टकर बनेको छ।
सीमाक्षेत्रका स्थानीयलाई वारपार गर्न अहिले कठिनाइ भइरहेको छ। मानिसहरू जोखिम मोलेर वारपार गरिरहेका छन्। डुबानमा परेका ससाना बालबालिकालाई सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ।
गौर भन्सारको क्षेत्र अहिले डुबानमा छ। भारतको बैरगनियाबाट आउने र नेपालबाट जानेहरू कष्टसँगले वारपार गरिरहेका छन्। ठेला, टाँगा चढेर स्थानीयबासीले ओहोरदोहोर गरिरहेका छन्। पैदल यात्रीहरुलाई सुरक्षाकर्मीले वारपार गराइरहेका छन्।
सशस्त्र प्रहरीका एसपी विक्रम हुँमागाईंले डुबानका कारण भन्सार क्षेत्रमा मानिसलाई हिँडडुल गर्न असहज भएको बताए । ‘डुबान कम हुँदै गएपनि आवतजावत गर्न समस्या भइरहेको छ, ‘उनले भने, ‘पानीमा जोखिम हुने हुँदा बालबालिकालाई भन्सारमा तैनाथ सशस्त्र प्रहरीले वारपार गर्न सघाइहेको छ।’
लगातारको वर्षापछि बाग्मती र लालबकैयामा आएको बाढीले बाँध भत्किएपछि सबैभन्दा बढी डुबान भन्सार क्षेत्रमा भएको छ। लगातारको वर्षाले गौर-चन्द्रनिगाहपुर खण्डको सबगढा नजिकको लच्कामा पानी जमेपछि आवतजावतमा समस्या भएको हो।
लच्कामा साना सवारी सञ्चालनमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिएका छन्। लच्कामा केही स्थानीयले रकम लिएर मानिस र सवारी वारपार गराइरहेका छन्।
कान्तिपुरबाट