
रौतहट : प्रहरीले रौतहटबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।
गौर नगरपालिका-१ बाट ५४ वर्षीय वीरेन्द्रकुमार जयसवाल पक्राउ परेका हुन्। मंगलबार साँझ पक्राउ गरे पनि उनलाई प्रहरीले बुधबार साँझ सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका-१ स्थित राईसल मिलको पूर्व-दक्षिण कुनाको बाटोमा शंकास्पद गतिविधि देखेर उनलाई जाँच गर्दा रकम बरामद गरेको हो।
जाँचका क्रममा ५०० दरका २०० थान र एक हजार दरका ५०० थान नोट फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनको साथबाट एकथान स्क्रिनटच मोबाइल पनि बरामद गरिएको छ।
रकमको स्रोतबारे आवश्यक कागजात माग्दा प्रस्तुत गर्न नसकेपछि जयसवाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।
रायका अनुसार, स्रोत नखुलेको रकमसहित पक्राउ परेका जयसवालमाथि गैरकानुनी लेनदेन वा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आशंका छ।