
जनकपुरधामः मधेश आन्दोलनका शहीद परिवारका सदस्यहरूले रोजगारी माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
मधेश आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहीद भएका थिए। सात वर्ष अगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक/एक जनालाई रोजगारी दिने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएको भन्दै उनीहरू हिजो शनिबार आन्दोलित भएका हुन्।
मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्य सहभागी भएका थिए। उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन्।
शहिद परिवारका सदस्य रामनरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटकपटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो गरे।
उनका अनुसार ५२ शहीद परिवारका एक/एक सदस्यलाई रोजगारी दिने सरकारले निर्णय गरे पनि सात वर्ष बितिसक्दा पनि कार्यान्वयन भएको छैन। केही शहीद परिवारलाई मात्र करारको जागिर दिएको छ। तर उनीहरूलाई पनि हटाउन खोजिएको उनले बताए।