धनुषामा आजदेखी दुई दिने आँप महोत्सव

लालबन्दी : धनुषामा दुई दिने आँप महोत्सव आजदेखि भएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यही असार १४ र १५ गते चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजनामा ‘चित्रपुर आँप मेला महोत्सव– २०८२’ शुरु भएको हो । 

स्थानीय आँप प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । चित्रपुरलाई ‘आँप पर्यटन नाका’का रूपमा विकास गर्ने लक्ष्य समेत लिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत आँप पकेट जोन घोषणा गरिए पनि किसानहरू बजारीकरण हुन नसकेको बताउँछन् ।

यहाँ दोस्रो पटक आँप महोत्सव गर्न लागिएको हो । मेलामा ४० भन्दा बढी जातका आँप तथा आँपबाट बनेका विभिन्न परिकार जुस, अचारलगायतको प्रदर्शनीमा राखिनेछ । 

मेला घुम्न आउने पर्यटकलाई निःशुल्क आँप खुवाउने, बगैँचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने र विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने कार्यक्रमसमेत समावेश गरिएको छ । 
हाल चित्रपुर क्षेत्रमा ३०० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको आँपको बगैँचामा उत्पादन हुँदै आएको छ ।

मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता सरोज चौधरीका अनुसार मधेस प्रदेशले देशको कुल आँप उत्पादनमा ७७.१ प्रतिशत योगदान दिँदै आएको बताए ।

सम्बन्धित समाचार

सबै