मिटरब्याजपीडित शिक्षिका कक्षामै मृत भेटिइन्

लालबन्दी : धनुषाको एक जना शिक्षिका कक्षाकोठामा नै मृत भेटिएकी छन्।

मिथिला नगरपालिका-८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बालविकास कक्षाकोठामा ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर झुन्डिएको अवस्थामा भेटिएकी हुन्। शिक्षिका मगरले सोही विद्यालयमा बालविकास कक्षामा पढाउँदै आएकी थिइन्।

गत साउन १ गते बिहान जमुनिबासमा विद्यालय कक्षाकोठामा मृत फेला परेपछि घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मिटरब्याजी जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग मृतक मगरले ऋण लिएकी थिइन्।

घटनास्थल नजिकै रहेको मगरको ज ११ प ७४९२ नम्बरको स्कुटीको डिक्कीबाट प्रहरीले सुसाइड नोट समेत बरामद गरेको जनाएको छ।

घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिटरब्याजी यादव समेत जोडिएको देखिएकाले उनलाई साउन २ गते नै पक्राउ गरी आत्महत्या दुरुत्साहनको कसुरमा चलाइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए। जानकारी अनुसार मृतक मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन्।

ऋण चुक्ता गरिसकेको भएपनि यादवले खाली चेक लिएर ४५ लाख रुपैयाँ उल्लेख गरेर बार्गेनिङ गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

यादवले पटकपटक मानसिक यातना, धाकधम्की र बेइज्जती गर्ने चेतावनी दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी सिंहले बताए।

यादवको घरबाट प्रहरीले विभिन्न व्यक्तिका नाममा भएका ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंक भौचर र चेकहरू समेत बरामद गरेको डिएसपी सिंहले जानकारी दिए।

परिवारजनका अनुसार मिटरब्याजी यादवले असार ३२ गते घरमै पुगेर पैसा तिर्न दबाब दिएका थिए। नभए चेक बाउन्स गरेर जेल पठाउने धम्की दिएका थिए।

सम्बन्धित समाचार

सबै