मुख्यमन्त्री यादवले २३ गते विश्वासको मत लिने, अल्पमतमा नरहेको जिकिर

जनकपुरधामः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्।

जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते आफूले विश्वासको मत लिने तय भएको उनले बताएका हुन्।

जनकपुरमा आज पत्रकारहरूसँगको कुराकानी मुख्यमन्त्री यादवले कानुनअनुसार नै सरकारले स्थानीय तहलाई ससर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर हुने जानकारी पनि दिए।

मुख्यमन्त्री यादवले पालिकाहरूले ससर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानुनअनुसार नै पैसा पठाइने बताए। ‘ससर्त सबै पालिका प्रमुखले सोधिरहनु भएको छ। प्रदेश सरकारको काम कर्तव्यअनुसार हामीले काम गरिरहेका छौँ,’ उनले भने। साथै उनले आफू अल्पमतको मुख्यमन्त्री नभएको पनि दाबी गरे।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा १० दल सहभागी छन्। सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेकपा (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका १९, जनमत पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नौ, लोकतान्त्रिक समाजवादी पार्टीका नौ, नेकपा (एकीकृत समाजवादी) का सात तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक-एक सांसद छन्।

यसैबीच, आज मुख्यमन्त्री यादवलाई एमाले, जनमत पाटी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले सरकारले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न ध्यानाकर्षण गराएका थिए।

सम्बन्धित समाचार

सबै