चन्द्रनगर । चन्द्रनगर गाउँपालिकामा निर्माण गरिएको १५ शय्याको आधारभूत अस्पतालको ओपीडी सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिकाको वडा नम्बर २ गौचरनमा निर्माण गरिएको अस्पतालबाट स्वास्थ्य सेवा प्रवाह सुरु गरिएको हो।
अस्पताल सेवा शुभारम्भका क्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतोले अस्पताल परिसरमा निर्माण गरिएको मन्दिरमा पूजा–अर्चना गरी सेवा सुरु गराएका हुन्। उद्घाटनकै क्रममा अध्यक्ष महतोले आफैँ अस्पतालमा पहिलो स्वास्थ्य परीक्षण गराएर बिलसमेत काटी जनतालाई अस्पतालको सेवा गुणस्तरीय र भरपर्दो हुने सन्देश दिएका थिए।
फागुन २९, २०८२ देखि सञ्चालनमा आएको उक्त अस्पतालमा डा। आलोक मिश्रा (एमबीबीएस, चितवन मेडिकल कलेज, भरतपुर) को नेतृत्वमा स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारी, विषयगत प्राविधिक, प्रशासनिक कर्मचारी, सरसफाइकर्मी तथा एम्बुलेन्स चालकसहितको टोलीले सेवा प्रदान गर्नेछ।
गाउँपालिकाका अनुसार नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको १५ शय्याको आधारभूत अस्पताल सञ्चालन कार्यविधि तथा मापदण्डअनुसार अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ।
यस अस्पतालमार्फत स्थानीय बासिन्दालाई प्राथमिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ। साथै चालु आर्थिक वर्षभित्रै अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने तथा अस्पतालकै आफ्नै सशुल्क फार्मेसीमार्फत सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने योजना रहेको छ।
त्यसैगरी अस्पतालमा सकेसम्म छिटो स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पनि राखिएको गाउँपालिकाले जानकारी दिएको छ। अस्पताल सञ्चालनमा आएपछि चन्द्रनगर गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दाले आधारभूत स्वास्थ्य सेवा स्थानीय स्तरमै प्राप्त गर्ने अपेक्षा गरिएको छ।
