१७ डब्बामा एक हजार बढी तीर्थयात्री बोकेर अयोध्याबाट आइपुग्यो रेल

जनकपुधाम । भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ ।

जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका छन् । साथै तीर्थयात्रीहरूलाई स्वागतमा बसेकाहरूलाई फूलमाला लगाइदिएका छन् ।

राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट सोमबार झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि हिँडेको थियो ।

यो रेल सेवा दुई देशको रोटीबेटी सम्बन्धलाई थप बलियोसँगै धार्मिक तथा सांस्कृतिक तीर्थाटनमा ठुलो टेवा पुग्ने विश्वास छ । अयोध्या अर्थात् भगवान रामको जन्मभूमि र आदर्शनारी जानकीको ससुराल हो भने जनकपुरधाम जानकीको माइत र रामको ससुराल। यसले त्रेताकालीन सम्बन्धलाई प्रगाढ बनाउने विश्वास लिइएको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार अयोध्याबाट जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीहरूलाई रेल्वे स्टेशनका साथसाथै ठाउँठाउँमा स्वागत गरिएको छ।

सरयू कमला एक्सप्रेसको १७ डब्बामा एक हजार बढी तीर्थयात्री जनकपुर आइपुगेको अनुमान छ ।

जनकपुरधाम रेल वे स्टेशनका साथै जानकी मन्दिर क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

 

सम्बन्धित समाचार

सबै