सर्लाही : एसईईमा मोबाइलबाट चिट चोर्ने तीन परीक्षार्थी पक्राउ

मलंगवा । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत दोस्रो दिनको परीक्षामा मोबाइल फोन प्रयोग गरी अमर्यादित कार्य गर्ने तीन जना परीक्षार्थी सर्लाहीमा पक्राउ परेका छन् ।

सर्लाहीको दक्षिणी भेग गोडैता नगरपालिका–५, रामवनस्थित जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अनिवार्य नेपाली विषयको परीक्षा भइरहेका बेला मोबाइलबाट चिट चोर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा बलरा नगरपालिका–८, गडहीया डुमरियास्थित जनता नमूना माध्यमिक विद्यालयका दुई जना छात्र र गोडैता नगरपालिका–१०, सिसौटियास्थित नारायणहरि माध्यमिक विद्यालयका एक जना छात्र रहेका छन् । पक्राउ परेका विद्यार्थीहरूको नाम भने गोप्य राखिएको छ ।

यसरी खुलेको थियो रहस्य

परीक्षा केन्द्रमा जडान गरिएको सिसिटिभी क्यामेराबाट निगरानी गर्ने क्रममा ती परीक्षार्थीहरूले शंकास्पद गतिविधि गरेको पाइएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका सूचना अधिकारी सुनिलकुमार कुशवाहाका अनुसार, सिसिटिभीमा गतिविधि शंकास्पद देखिएपछि तत्काल खानतलासी गर्दा उनीहरूको साथबाट मोबाइल फोन बरामद भएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर परीक्षा केन्द्रबाहिर रहेका मानिसहरूलाई पठाउन छुट्टै ‘ह्वाट्सएप ग्रुप’ समेत बनाएको फेला परेको छ ।

कारबाही प्रक्रिया

परीक्षाको मर्यादाविपरीत कार्यमा संलग्न भएको भन्दै पक्राउ परेका तीनै जना परीक्षार्थीको आजको अनिवार्य नेपाली विषयको परीक्षा रद्ध गरिएको सूचना अधिकारी कुशवाहाले जानकारी दिए ।

पक्राउ परेका परीक्षार्थीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ । परीक्षालाई मर्यादित बनाउन जिल्लाका सबै केन्द्रहरूमा कडा निगरानी बढाइएको शिक्षा विकास इकाइले जनाएको छ ।

सम्बन्धित समाचार

सबै