बरहथवा । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित बालम चोकमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। मलंगवा–बरहथवा सडक खण्डमा बिहिवार साँझ करिब ५:४० बजे उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००२ प २९४० नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बिआर ३० एम २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक गोडैता नगरपालिका–६ बस्ने अन्दाजी ४० वर्षीय जयाराम महतो र मोटरसाइकलको पछाडि सवार बरहथवा नगरपालिका–६ का ६० वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका छन्। घाइते दुवै जनाको टाउको, अनुहार, शरीरका विभिन्न भाग र हातखुट्टामा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ।
घाइतेहरूलाई तत्काल उपचारका लागि बरहथवास्थित भेन्स अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचार पछि उनीहरूको अवस्था थप जटिल देखिएकाले उन्नत उपचारका लागि बीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा रिफर गरिएको छ। हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक धनुषा जिल्लाको मिथिला नगरपालिका–७ बस्ने सन्तोष कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय बरहथवाबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।