सर्लाहीका मालपोत र यातायात कार्यालयबाट ९ जना बिचौलिया पक्राउ

मलंगवा । सर्लाही सदरमुकाम मलङ्गवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रहरीले आइतबार नौ जनालाई पक्राउ गरेको छ । सरकारी कार्यालयहरूमा बिचौलियाको गतिविधि बढेको जनगुनासोपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बिशालबहादुर बुढाथोकीका अनुसार मालपोत कार्यालयबाट सात जना र यातायात कार्यालयबाट दुई जनालाई पक्राउ गरिएको छ ।मालपोतबाट पक्राउ पर्नेहरूमा लेखापढी व्यवसायीहरू रहेका छन् ।

सरकारले सरकारी कार्यालयभित्र अनधिकृत व्यक्तिको प्रवेश र बिचौलियाको काममा रोक लगाउने निर्णय गरेको छ । सोही निर्णयको बर्खिलाप हुने गरी कार्यालयभित्र प्रवेश गरी सेवाग्राहीलाई अनावश्यक सास्ती दिने र सहजीकरणको बहानामा बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै नौ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सर्लाहीका मलंगवा, हरिवन र बरहथवामा रहेका नापी, मालपोत लगायतका धेरै भीडभाड हुने कार्यालयहरूमा सेवाग्राहीबाहेक अन्य व्यक्तिको प्रवेशमा कडाइ गर्न थालेको छ ।

बिचौलिया नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रशासन र प्रहरी कार्यालयहरूमा ‘बिचौलिया प्रवेश निषेध’ लेखिएका ब्यानर समेत टाँसिएको छ ।

प्रहरीले सेवाग्राहीलाई आफैँ उपस्थित भएर काम गर्न र कसैको प्रलोभनमा नपर्न समेत आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सबै