वीरगन्जमा प्रहरी जवानको बीभत्स हत्या, चार जना पक्राउ

प्रेम सम्बन्ध हुनसक्ने प्रारम्भिक अनुमान

वीरगन्ज । पर्सामा आइतबार दिउँसो एक प्रहरी जवानको समूहगत कुटपिटबाट बीभत्स हत्या भएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर-९ मा भएको उक्त घटनामा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसियाको मृत्यु भएको हो।

घटनाको जानकारी पाउनासाथ सक्रियता देखाएको पर्सा प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा चारजना युवाहरूलाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार, केही युवकहरूको समूहले चौरसियामाथि भारी वस्तु प्रहार गरी निर्घात कुटपिट गरिरहेको सूचना प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका चौरसियाको उद्धार गरी तत्काल उपचारका लागि अस्पताल पुर्‍याउन साथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाटै पक्राउ गरेका चारैजना आरोपीहरूको नाम र ठेगाना भने हाललाई गोप्य राखेको छ। अनुसन्धानमा असर पर्न सक्ने भएकाले उनीहरूको परिचय सार्वजनिक नगरिएको र घटनाको विषयमा सूक्ष्म अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।

प्रेम सम्बन्ध हुनसक्ने प्रारम्भिक अनुमान

प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, यो हत्याको पछाडि प्रेम सम्बन्ध मुख्य कारण हुन सक्ने देखिएको छ। मृतक चौरसियाको कुनै एक महिलासँग प्रेम सम्बन्ध रहेको र सोही विषयलाई लिएर उत्पन्न विवादका कारण योजनाबद्ध रूपमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

पर्सा प्रहरीले घटनाको भित्री रहस्य खोतल्न अनुसन्धानलाई तीव्र बनाएको छ। “घटनाको पूर्ण विवरण र हत्याको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ,” प्रहरी प्रमुख पाठकले बताए।

सम्बन्धित समाचार

सबै