सर्लाहीमा पुरानो रिसिबीका कारण युवकमाथि कैँची प्रहार, दुई जना पक्राउ

सर्लाही । सर्लाहीको गोडैता बजारमा आज साँझ कैँची प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । पुरानो रिसिबीका कारण भएको सो आक्रमणमा गोडैता नगरपालिका–७ का १८ वर्षीय आकाश दास घाइते भएका हुन् ।

शनिबार साँझ करिब ६:१५ बजेको समयमा भएको उक्त घटनामा दासको टाउको र पिठ्यूमा गम्भीर चोट लागेको छ । घाइते युवकलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि राति ८:१० बजे वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ ।

कैँची प्रहारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका–७ कै १८ वर्षीय इबरान दर्जी मिया र १८ वर्षका अपसैद बैठा रहेका छन् ।

उनीहरूलाई प्रहरी चौकी गोडैताले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा बुझाएको छ । घटनाका सम्बन्धमा प्रहरी निरीक्षक विन्देश्वर यादवले थप कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

सम्बन्धित समाचार

सबै