बागमती । सर्लाहीको बागमती नगरपालिकास्थित पर्यटकीय क्षेत्र ‘भरत ताल’ (बागमती माछा पोखरी) नजिकै एक मानव कङ्काल फेला परेको छ।
बागमती नगरपालिका-१२ स्थित भरत तालदेखि उत्तरतर्फ ढुङ्गा र गिट्टी थुपारिएको स्थानमा कङ्काल बनिसकेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मंगलबार दिउँसो स्थानीय बासिन्दा घाँस काट्न गएको समयमा मानव अवशेष देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार फेला परेको शवको टाउको छुट्टिएको र शरीर पूर्ण रूपमा क्षतविक्षत अवस्थामा रहेको छ। घटनास्थलमा भेटिएका लुगाकपडाका आधारमा उक्त शव पुरुषको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।
प्रहरीले शवलाई पोस्टमार्टम र थप पहिचानका लागि मंगलबार साँझ नै सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल पठाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।