लालबन्दी । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘जूबा’को छायाङ्कन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मको छायाङ्कन सर्लाहीबाट विधिवत् रूपमा सुरु गरिएको हो ।
बुधबार सर्लाहीमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन आरम्भ गरिएको निर्देशक प्रकाश कर्णले जानकारी दिए । निर्देशक कर्णका अनुसार फिल्मको पहिलो चरणको छायाङ्कन ७ दिनसम्म सर्लाहीमा चल्नेछ । त्यसपछि बाँकी छायाङ्कनका लागि निर्माण टोली भारतको राजस्थान प्रस्थान गर्ने तालिका रहेको छ ।
कुल ७५ दिनको लामो छायाङ्कन सेड्युल तय गरिएको यस फिल्ममा सौगात मल्लका साथै सुधन पोखरेलको पनि अभिनय रहनेछ । यसै फिल्ममार्फत सोफी धरेलले नायिकाको रूपमा नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दै छिन् ।
निर्माण पक्षले फिल्मको कथावस्तु र अन्य कलाकारहरूको बारेमा भने अहिले गोप्य राखेको छ । फिल्मलाई भव्य बनाउनका लागि लामो समयको छायाङ्कन अवधि र विभिन्न लोकेसनहरू तय गरिएको निर्माण टिमको भनाइ छ । अस्त्र फिल्मसले यसअघि पनि विभिन्न सिर्जनात्मक प्रोजेक्टहरूमा काम गर्दै आएको छ ।