लालबन्दी । सातामा दुई दिन सार्वजनिक बिदा दिइने निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका जारी गरेको छ ।
मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मिति आज एक परिपत्र जारी गर्दै शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषदले २०८२ चैत्र २२ गते गरेको निर्णयबमोजिम शैक्षिक सत्र २०८३ मा विद्यालयहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । यसै निर्णयको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थाहरूलाई आग्रह गरेको हो । यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र सबै विद्यालयहरूलाई पठाइएको छ ।
परिपत्रअनुसार अब पठनपाठनलाई प्रभावकारी बनाउन निम्नअनुसारका व्यवस्थापन गर्नुपर्नेछ :
१. प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्थापन गर्नुपर्ने छ ।
२. सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ ।
३. हिउँदे र बर्से बिदाको अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ ।
४. पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिनेछ ।
५. अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न गर्नुपर्नेछ ।
६. स्वीकृत पाठ्यक्रम एवम् निर्धारण गरिएका सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवम् परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुविषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य दिन र आवश्यकताअनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ ।
परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ ।
यसका लागि स्थानीय तह, विद्यालय र शिक्षकले स्वीकृत पाठ्यक्रमको विषयक्षेत्र समेटी परियोजना कार्य निर्माण गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था गरिएको परिपत्रमा उल्लेख छ ।